मेरो पालनकर्ता अल्लाह हुनुहुन्छ

अल्लाहले भन्नुभएको छ: {हे मानिसहरू! आफ्नो पालनकर्ताको उपासना गर, जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिकाहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू धर्मपरायण बन्न सक।} [सूरह अल्-बकरह: २१] अल्लाहले भन्नुभएको छ: {उहाँ अल्लाह हुनुहुन्छ, उहाँबाहेक कुनै सत्य उपास्य छैन।} [सूरह अल्-हश्र: २२] अल्लाहले भन्नुभएको छ: {उहाँजस्तो कुनै पनि वस्तु छैन र उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।} [सूरह अश्-शूरा: ११] अल्लाह मेरा पालनकर्ता, सबै कुराका पालनकर्ता, मालिक, सृष्टिकर्ता, जीविका प्रदान कर्ता र सम्पूर्ण सृष्टिको व्यवस्थापन कर्ता हुनुहुन्छ। उहाँ मात्र उपासना योग्य हुनुहुन्छ। उहाँबाहेक कुनै पालनकर्ता र कुनै सत्य उपास्य छैन। उहाँका लागि सबैभन्दा उत्कृष्ट नामहरू र सर्वोच्च गुणहरू छन्, जसलाई उहाँले आफ्ना लागि स्थापित गर्नुभएको छ र उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पनि पुष्टि गर्नुभएको छ। ती नाम र गुणहरू पूर्णता र उत्कृष्टताको सर्वोच्च स्तरमा छन्। उहाँ जस्तो कोही छैन र उहाँ सर्वश्रोता तथा सर्वद्रष्टा हुनुहुन्छ।

उहाँका केही उत्कृष्ट नामहरू यस प्रकार छन्:

  • अर्-रज्जाक (सबैलाई जीविका प्रदान गर्ने)।
  • अर्-रहमान (अत्यन्त कृपालु)।
  • अल्-कदीर (सर्वशक्तिमान)।
  • अल्-मलिक (सम्पूर्ण सृष्टिका मालिक)।
  • अस्-समीअ (सर्वश्रोता)।
  • अस्-सलाम (सबै दोष र त्रुटिबाट पूर्णतः पवित्र)।
  • अल्-बसीर (सर्वद्रष्टा)।
  • अल्-वकील (संरक्षक)।
  • अल्-खालिक (सृष्टिकर्ता)।
  • अल्-लतीफ (अत्यन्त सूक्ष्मदर्शी)।
  • अल्-काफी (एक्लै पर्याप्त हुने)।
  • अल्-गफूर (अत्यन्त क्षमाशील)।

 

मुस्लिमले अल्लाहको अद्भुत सृष्टि र उहाँको उत्कृष्ट व्यवस्थापनबारे चिन्तन गर्नुपर्छ। यसको एउटा उदाहरण सृष्टिका प्राणीहरूले आफ्ना बच्चाहरूलाई खुवाउने, हेरचाह गर्ने र उनीहरू आफैँ बाँच्न सक्ने अवस्थामा नपुगेसम्म संरक्षण गर्ने स्वाभाविक व्यवस्था हो। त्यसैले उहाँ अत्यन्त पवित्र हुनुहुन्छ। उहाँ नै तिनीहरूका सृष्टिकर्ता हुनुहुन्छ र उनीहरूमाथि अत्यन्त कृपालु हुनुहुन्छ। उहाँकै सूक्ष्म कृपाका कारण उहाँले तिनीहरूको कमजोरीका बाबजुद पनि जीवनयापन र हितका लागि आवश्यक सबै साधनहरू उपलब्ध गराउनुभएको छ।

मेरो पालनकर्ता अल्लाह हुनुहुन्छ

उहाँ आफ्ना भक्तहरूका जीविकाको जिम्मा लिनुहुन्छ। उहाँले उनीहरूका हृदय र शरीरको जीवन धान्ने सबै प्रकारका जीविका प्रदान गर्नुहुन्छ।

उहाँ असीम र व्यापक दयाका धनी हुनुहुन्छ, जसको दया हरेक वस्तुलाई समेटेको छ।

उहाँ पूर्ण शक्तिका मालिक हुनुहुन्छ। उहाँलाई कुनै असमर्थता, थकान वा कमजोरीले छुँदैन।

उहाँ महानता, प्रभुत्व र सम्पूर्ण व्यवस्थापनका गुणले परिपूर्ण हुनुहुन्छ। उहाँ सबै वस्तुका वास्तविक मालिक हुनुहुन्छ र तिनमा आफूले चाहेअनुसार अधिकारपूर्वक व्यवस्था गर्नुहुन्छ।

उहाँ सबै कुरा सुन्नुहुन्छ; चाहे ती गोप्य होऊन् वा प्रकट।

उहाँ प्रत्येक कमी, दोष, त्रुटि र अपूर्णताबाट पूर्णतः पवित्र हुनुहुन्छ।

उहाँको दृष्टिले साना वा सूक्ष्मभन्दा सूक्ष्म सबै वस्तुलाई समेटेको छ। उहाँ सबै वस्तुहरूको वास्तविकताबारे सूक्ष्म ज्ञान राख्नुहुन्छ र तिनका अन्तर्य तथा गुप्त अवस्थाहरूबारे पूर्ण रूपमा जानकार हुनुहुन्छ।

उहाँ आफ्ना सम्पूर्ण सृष्टिको जीविकाको जिम्मा लिनुहुन्छ, उनीहरूको हित–कल्याणको व्यवस्था गर्नुहुन्छ र आफ्ना असल भक्तहरूको संरक्षक भई उनीहरूका कामहरू सहज बनाइदिनुहुन्छ तथा उनीहरूका लागि पर्याप्त हुनुहुन्छ।

उहाँ सबै वस्तुका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले कुनै पूर्व नमुना वा उदाहरणबिना नै सबै चीजको सिर्जना गर्नुभएको हो।

उहाँ आफ्ना भक्तहरूमाथि अत्यन्त कृपालु हुनुहुन्छ। उहाँ उनीहरूलाई सम्मान गर्नुहुन्छ, दया गर्नुहुन्छ र उनीहरूले मागेका कुराहरू प्रदान गर्नुहुन्छ।

उहाँ आफ्ना भक्तहरूलाई उनीहरूलाई आवश्यक पर्ने सबै कुरा पर्याप्त गराइदिनुहुन्छ। उहाँको सहायता मात्र पर्याप्त हुन्छ र उहाँबाहेक अरू कसैको आवश्यकता पर्दैन।

उहाँ आफ्ना भक्तहरूलाई उनीहरूका पापहरूको दुष्परिणामबाट जोगाउनुहुन्छ र तिनका कारण उनीहरूलाई दण्ड दिनुहुन्न।

मेरो नबी मुहम्मद ﷺ हुनुहुन्छ

अल्लाह तआलाले भन्नुभएको छ: {हामीले तपाईंलाई सम्पूर्ण संसारका लागि केवल रहमत (दयाको स्रोत) बनाएर पठाएका हौँ।} [सूरह अल्-अम्बिया: १०७]
नबी मुहम्मद ﷺ सम्पूर्ण मानवजातिका लागि रहमत हुनुहुन्छ
उहाँ मुहम्मद बिन अब्दुल्लाह ﷺ हुनुहुन्छ, जो सम्पूर्ण नबी तथा रसूलहरूमध्ये अन्तिम नबी र समापक हुनुहुन्छ। अल्लाह तआलाले उहाँलाई इस्लाम धर्मसहित सम्पूर्ण मानवजातितर्फ आह्वान गर्न पठाउनुभयो, ताकि उहाँले उनीहरूलाई भलाइतर्फ मार्गदर्शन गरून्, जसको सबैभन्दा महान् रूप तौहीद (अल्लाहको एकत्व) हो र उनीहरूलाई बुराईबाट रोकून्, जसको सबैभन्दा ठूलो रूप शिर्क (अल्लाहसँग साझेदार ठहराउनु) हो।
उहाँले आदेश दिनुभएका सबै कुरामा उहाँको आज्ञापालन गर्नु, उहाँले दिएका प्रत्येक समाचारलाई सत्य मान्नु, उहाँले निषेध गरेका र रोक्नुभएका सबै कुराबाट टाढा रहनु र अल्लाहको उपासना केवल उहाँले तोकिदिनुभएको तरिकाअनुसार मात्र गर्नु अनिवार्य छ।
उहाँको सन्देश तथा उहाँभन्दा अघिका सम्पूर्ण नबीहरूको सन्देश एउटै थियो; केवल एक अल्लाहको उपासना गर्न आह्वान गर्नु, जसको कुनै साझेदार छैन।

नबी मुहम्मद ﷺ का केही गुणहरू:

  • इमानदारी
  • करुणा
  • कोमलता
  • धैर्यता
  • साहस
  • उदारता
  • असल आचरण 
  • न्याय
  • नम्रता
  • क्षमाशील

पवित्र कुरआन मेरा पालनकर्ताको वाणी हो

अल्लाहले भन्नुभएको छ:
{हे मानिसहरू! तिमीहरूका पालनकर्ताको तर्फबाट तिमीहरूकहाँ एउटा स्पष्ट प्रमाण आइसकेको छ र हामीले तिमीहरूतर्फ एउटा स्पष्ट प्रकाश अवतरण गरेका छौं।} [सूरह अन्-निसा: १७४]

पवित्र कुरआन: अल्लाहको वाणी हो, जसलाई उहाँले आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरण गर्नुभयो, ताकि उहाँले मानिसहरूलाई अन्धकारबाट उज्यालोतर्फ निकालोस् र उनीहरूलाई सत्य मार्ग देखाओस्।
जसले यसलाई पढ्छ, उसले ठूलो प्रतिफल पाउँछ; र जसले यसको मार्गदर्शनअनुसार आचरण गर्छ, ऊ सोझो र सत्य मार्गमा हिँड्छ।

इस्लामका आधारभूत स्तम्भहरूबारे जानौँ

नबी ﷺ ले भन्नुभयो:
“इस्लाम पाँच आधारहरूमा स्थापित गरिएको छ: अल्लाहबाहेक कुनै साँचो उपास्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भनी गवाही दिनु, नमाज कायम गर्नु, जकात अदा गर्नु, रमजानको रोजा राख्नु र बैतुल्लाह (काबा) को हज गर्नु।”
इस्लामका स्तम्भहरू ती अनिवार्य इबादतहरू हुन्, जसको पालना प्रत्येक मुस्लिमले गर्नुपर्छ। तिनको अनिवार्यतामाथि विश्वास गरी तिनको पालन नगरी कसैको इस्लाम पूर्ण हुँदैन। इस्लामको आधार नै यिनै स्तम्भहरूमा रहेको हुनाले यिनलाई ‘अर्कानुल-इस्लाम’ (इस्लामका स्तम्भहरू) भनिन्छ।
यी स्तम्भहरू यसप्रकार छन्:

इस्लामका आधारभूत स्तम्भहरूबारे जानौँ

पहिलो स्तम्भ

अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद अल्लाहका रसूल हुन् भन्ने गवाही दिनु।

अल्लाहले भन्नुभएको छ: {त्यसैले जानिराख, अल्लाहबाहेक कुनै सत्य उपास्य छैन।} [सूरह मुहम्मद: १९]

अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै तिमीहरूमध्येबाटै तिमीहरूकहाँ एक जना रसूल आउनुभएको छ। तिमीहरूलाई कुनै दुःख वा कष्ट पुग्दा त्यो उहाँलाई अत्यन्तै गाह्रो लाग्छ। उहाँ तिमीहरूको भलाइप्रति अत्यन्तै इच्छुक हुनुहुन्छ र ईमानवालाहरूप्रति अत्यन्त ममतामय तथा असीम दयालु हुनुहुन्छ।} [सूरह अत्-तौबह: १२८]

‘अल्लाहबाहेक कुनै सत्य उपास्य छैन’ भन्ने गवाहीको अर्थ: अल्लाहबाहेक कुनै पनि सत्य उपास्य छैन।
‘मुहम्मद अल्लाहका रसूल हुन्’ भन्ने गवाहीको अर्थ: उहाँले दिनुभएका आदेशहरूको आज्ञापालन गर्नु, उहाँले दिनुभएका समाचारहरूलाई सत्य मान्नु, उहाँले निषेध गर्नुभएका कुराहरूबाट टाढा रहनु र उहाँले निर्धारित गर्नुभएको तरिकाअनुसार मात्र अल्लाहको उपासना गर्नु।

 

दोस्रो स्तम्भ

नमाज कायम गर्नु

अल्लाहले भन्नुभएको छ: {नमाज कायम गर।} [सूरह अल्-बकरह: ११०]

• नमाज कायम गर्नु भनेको अल्लाहले निर्धारित गर्नुभएको र उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले सिकाउनुभएको तरिकाअनुसार नमाज अदा गर्नु हो।

 

तेस्रो स्तम्भ

जकात दिनु

• अल्लाहले भन्नुभएको छ: {जकात देऊ।} [सूरह अल्-बकरह: ११०]

• अल्लाहले जकातलाई मुस्लिमको ईमानको सत्यताको परीक्षा, धनप्रति उहाँप्रतिको कृतज्ञता तथा गरिब र आवश्यकतामा परेकाहरूको सहयोगका लागि अनिवार्य गर्नुभएको छ।

• जकात अदा गर्नु भनेको त्यसका हकदारहरूलाई जकात प्रदान गर्नु हो।

• धन निश्चित मात्रा (निसाब) मा पुगेपछि त्यसमा जकात अनिवार्य हुन्छ र कुरआनमा अल्लाहले उल्लेख गर्नुभएका आठ वर्गका हकदारहरूलाई प्रदान गरिन्छ, जसमा गरिब र विपन्न पनि पर्छन्।

• जकात अदा गर्नुमा दया र करुणाको भावना प्रकट हुन्छ, यसले मुस्लिमको आचरण र धनसम्पत्तिलाई पवित्र बनाउँछ, गरिब तथा विपन्नहरूको मनलाई सन्तुष्ट पार्छ र मुस्लिम समाजका सदस्यहरूबीच प्रेम तथा भ्रातृत्वको सम्बन्धलाई सुदृढ बनाउँछ। त्यसैले असल मुस्लिमले जकात अदा गर्दा मनदेखि खुसी र प्रसन्न भएर अदा गर्छ, किनकि यसबाट अन्य मानिसहरूलाई पनि खुसी प्राप्त हुन्छ।

• धनसम्पत्तिमा जकातको मात्रा २.५% हो। यो सुन, चाँदी, नगद तथा बिक्री–खरीद गरी नाफा कमाउने उद्देश्यले राखिएका व्यापारिक सामानमा लाग्छ। जब त्यस्ता धनसम्पत्तिको मूल्य निश्चित निसाबसम्म पुग्छ र त्यसमा चन्द्र वर्षअनुसार एक वर्ष पूरा हुन्छ, तब २.५% जकात तिर्नुपर्छ।

• त्यस्तै, जससँग निश्चित सङ्ख्यामा ऊँट, गाई वा भेडा–बाख्रा छन् र ती पशुहरूलाई वर्षको अधिकांश समय प्राकृतिक चरनमा चराइन्छ तथा मालिकले अतिरिक्त दाना–चारा खुवाउँदैन भने, तिनमा पनि जकात अनिवार्य हुन्छ। 

• यसैगरी, निश्चित मात्रामा पुगेका अन्न, फलफूल, खनिज तथा भूमिबाट प्राप्त खजानामा पनि जकात अनिवार्य हुन्छ।

 

 

चौथो स्तम्भ

रमजान महिनाको रोजा राख्नु

• अल्लाहले भन्नुभएको छ: {हे ईमानवालाहरू! तिमीहरूमाथि रोजा अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो, ताकि तिमीहरू धर्मपरायण बन्न सक।} [सूरह अल्-बकरह: १८३]

• रमजान: हिजरी संवतको नवौँ महिना हो। यो मुस्लिमहरूका लागि अत्यन्त सम्मानित महिना हो र अन्य महिनाभन्दा विशेष महत्त्व राख्छ। यस महिनाको पूरा रोजा राख्नु इस्लामका पाँच स्तम्भहरूमध्ये एक हो।

• रमजानको रोजा: अल्लाहको उपासनाको उद्देश्यले बिहानको साँचो उज्यालो (फज्र सादिक) देखि सूर्यास्तसम्म खाने, पिउने, वैवाहिक सम्बन्ध तथा रोजा तोड्ने अन्य सबै कुराबाट टाढा रहनु हो।

 

पाँचौँ स्तम्भ

अल्लाहको पवित्र घर (काबा) को हज गर्नु

• अल्लाहले भन्नुभएको छ: {जो त्यहाँ पुग्न सक्ने क्षमता राख्छ, उसले अल्लाहका लागि त्यस घरको हज गर्नु अनिवार्य छ।} [सूरह आले इमरान: ९७]

• हज शारीरिक तथा आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिममाथि जीवनमा एकपटक अनिवार्य छ। हज भनेको निश्चित समयमा मक्का मुकर्रमास्थित पवित्र काबा र अन्य पवित्र स्थलहरूमा गई निर्धारित इबादतहरू गर्नु हो।

• नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हज गर्नुभएको थियो र उहाँभन्दा अघिका अन्य नबीहरूले पनि हज गरेका थिए। साथै, अल्लाहले इब्राहीम (अलैहिस्सलाम) लाई मानिसहरूलाई हजका लागि आह्वान गर्न आदेश दिनुभएको थियो। यसबारे अल्लाहले पवित्र कुरआनमा भन्नुभएको छ:{मानिसहरूलाई हजको घोषणा गर। उनीहरू पैदल र दुब्ला–पातला ऊँटमा सवार भएर हरेक टाढाटाढाका बाटोबाट तिमीकहाँ आउनेछन्।} [सूरह अल्-हज्ज: २७]

 

ईमानका आधारभूत स्तम्भहरूबारे जानौँ

नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग ईमानबारे सोधिँदा उहाँले भन्नुभयो:“ईमान भनेको अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, आखिरतको दिन तथा राम्रो–नराम्रो सबै तक्दीरमाथि विश्वास गर्नु हो।”
ईमानका स्तम्भहरू वास्तवमा हृदयसँग सम्बन्धित अनिवार्य इबादतहरू हुन्, जसमा विश्वास नगरी कुनै व्यक्तिको इस्लाम पूर्ण हुँदैन। त्यसैले यिनलाई ‘अर्कानुल-ईमान’ (ईमानका स्तम्भहरू) भनिन्छ।
ईमानका स्तम्भ र इस्लामका स्तम्भबीचको भिन्नता यो हो कि इस्लामका स्तम्भहरू बाह्य कर्महरू हुन्, जुन मानिसले आफ्ना अङ्गद्वारा गर्छ, जस्तै: शाहादत (कलिमा) पढ्नु, नमाज अदा गर्नु र जकात दिनु। तर ईमानका स्तम्भहरू हृदयका कर्महरू हुन्, जस्तै: अल्लाह, उहाँका किताबहरू र उहाँका रसूलहरूमाथि विश्वास गर्नु।

ईमानको अवधारणा र अर्थ:
हृदयले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, आखिरतको दिन तथा राम्रो र नराम्रो सबै तक्दीरमाथि दृढ विश्वास गर्नु, साथै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको सम्पूर्ण शिक्षालाई स्वीकार गरी त्यसअनुसार कर्म गर्नु हो। यसमा जिब्रोद्वारा गरिने कर्महरू पनि पर्दछन्, जस्तै: «ला इलाहा इल्लल्लाह» भन्नु, कुरआन पढ्नु, तस्बीह, तहलील तथा अल्लाहको प्रशंसा गर्नु।
त्यसैगरी, शरीरका अङ्गद्वारा गरिने कर्महरू पनि यसमा पर्दछन्, जस्तै: नमाज पढ्नु, हज गर्नु र रोजा राख्नु। हृदयसँग सम्बन्धित कर्महरू पनि यसमा पर्दछन्, जस्तै: अल्लाहलाई प्रेम गर्नु, उहाँसँग डराउनु, उहाँमाथि भरोसा गर्नु र उहाँकै लागि निष्कपट हुनु।
विद्वानहरूले संक्षेपमा ईमानको परिभाषा यसरी गरेका छन्: हृदयले दृढ विश्वास गर्नु, जिब्रोले स्वीकार गर्नु र अङ्गहरूद्वारा कर्म गर्नु, ईमान आज्ञापालनले बढ्छ र अवज्ञाले घट्छ।

ईमानका आधारभूत स्तम्भहरूबारे जानौँ

पहिलो स्तम्भ

अल्लाहमाथि ईमान

अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै साँच्चा ईमानवाला त तिनीहरू नै हुन्, जसले अल्लाह र उहाँका रसूलमाथि ईमान ल्याएका छन्।} [सूरह अन्-नूर: ६२]
अल्लाहमाथि ईमान ल्याउनु भनेको उहाँको रुबुबिय्यत (प्रभुत्व), उलुहिय्यत (उपासनाको अधिकार) तथा उहाँका नाम र गुणहरूमा उहाँको तौहीद (एकत्व) लाई स्वीकार गर्नु हो। यसमा निम्न कुराहरू समावेश छन्:


  •  अल्लाह (सुब्हानहु व तआला) को अस्तित्वमा ईमान राख्नु।

  •  उहाँको रुबुबिय्यत (प्रभुत्व) मा ईमान राख्नु; उहाँ नै सबै कुराका मालिक, सृष्टिकर्ता, जीविका प्रदान कर्ता र सम्पूर्ण सृष्टिको व्यवस्थापन गर्नुहुन्छ भन्ने विश्वास गर्नु।

  •  उहाँको उलुहिय्यत (उपासनाको अधिकार) मा ईमान राख्नु; उहाँ एक्लै सबै प्रकारका इबादतका सच्चा हकदार हुनुहुन्छ र उहाँको कुनै साझेदार छैन भन्ने विश्वास गर्नु। जस्तै: नमाज, दुआ, भाकल (नजर), कुर्बानी, सहायता माग्नु, शरण माग्नु तथा अन्य सबै प्रकारका इबादतहरू केवल उहाँकै लागि समर्पित गर्नु।

  •  उहाँका उत्कृष्ट नामहरू (अस्माउल हुस्ना) र सर्वोच्च गुणहरू (सिफातुल-उला) माथि ईमान राख्नु; अल्लाहले आफ्नो लागि वा उहाँको नबी ﷺ ले अल्लाहका लागि प्रमाणित गर्नुभएका सबै नाम र गुणहरूलाई पुष्टि गर्नु र अल्लाहले आफ्नो लागि वा उहाँका नबी ﷺ ले अल्लाहका लागि अस्वीकार गर्नुभएका सबै कुरालाई अस्वीकार गर्नु। साथै, उहाँका सबै नाम र गुणहरू पूर्णता र उत्कृष्टताको उच्चतम स्तरमा छन् भन्ने विश्वास गर्नु। उहाँजस्तो कुनै पनि वस्तु छैन र उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।    

दोस्रो स्तम्भ

फरिश्ताहरूमाथि ईमान

फरिश्ताहरूमाथि ईमान
अल्लाह तआलाले भन्नुभएको छ: {सबै प्रशंसा अल्लाहकै लागि हो, जो आकाशहरू र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले फरिश्ताहरूलाई दुई–दुई, तीन–तीन र चार–चार पखेटा भएका सन्देशवाहक बनाउनुभएको छ। उहाँले सृष्टिमा आफूले चाहेजति वृद्धि गर्नुहुन्छ। निःसन्देह, अल्लाह हरेक कुरामाथि पूर्ण शक्ति राख्नुहुन्छ।.} [सूरह फातिर: १]


हामी विश्वास गर्छौं: फरिश्ताहरू अदृश्य संसारका प्राणी हुन्। अल्लाहले तिनीहरूलाई नूर (प्रकाश) बाट सृष्टि गर्नुभएको हो। तिनीहरू उहाँका आज्ञाकारी सेवक हुन् र सधैँ उहाँको आदेशको पालना गर्छन्।

उनीहरू अल्लाहका महान् सृष्टिहरू हुन्। उनीहरूको सङ्ख्या र शक्तिको पूर्ण ज्ञान केवल अल्लाहलाई मात्र छ। अल्लाहले प्रत्येक फरिश्तालाई विशेष गुण, नाम र जिम्मेवारी प्रदान गर्नुभएको छ। तिनीहरूमध्ये जिब्रिल (अलैहिस्सलाम) पनि हुनुहुन्छ, जसलाई अल्लाहले वही (ईश्वरीय प्रकाश) ल्याउने जिम्मेवारी सुम्पिनुभएको थियो। उहाँ अल्लाहको आदेशअनुसार उहाँका रसूलहरूसमक्ष वही लिएर आउनुहुन्थ्यो।

 

तेस्रो स्तम्भ

अल्लाहका किताबहरूमाथि ईमान

• अल्लाह तआलाले भन्नुभएको छ: {भन: ‘हामी अल्लाहमाथि ईमान ल्यायौँ र हामीमाथि अवतरित गरिएको तथा इब्राहीम, इस्माइल, इस्हाक, याकूब र उनका सन्तानहरूमाथि अवतरित गरिएको कुरामाथि पनि। साथै, मूसा, ईसा र अन्य नबीहरूलाई उनीहरूका पालनकर्ताको तर्फबाट प्रदान गरिएको सबै कुरामाथि पनि हामी ईमान ल्यायौँ। हामी उनीहरूमध्ये कसैको बीचमा कुनै भेदभाव गर्दैनौँ र हामी अल्लाहप्रति समर्पित (मुस्लिम) हौँ।} [सूरह अल्-बकरह: १३६]

• सबै आकाशीय (दिव्य) किताबहरू अल्लाहका वचन हुन् भन्ने दृढ विश्वास राख्नु।

• यी सबै किताबहरू अल्लाहले आफ्ना रसूलहरूमाथि सत्यसहित अवतरित गर्नुभएको हो भन्ने विश्वास राख्नु।

• अल्लाहले आफ्ना नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण मानवजातिका लागि विश्वव्यापी रसूल बनाएर पठाउनुभयो। अल्लाहले उहाँमार्फत अघिल्ला सबै शरिअतहरूलाई रद्द गर्नुभयो र पवित्र कुरआनलाई सबै आकाशीय किताबहरूमाथि प्रमाणिक र संरक्षक बनाउनु भयो।  अल्लाहले पवित्र कुरआनलाई हरेक प्रकारको परिवर्तन र विकृतिबाट सुरक्षित राख्ने जिम्मा स्वयं लिनुभएको छ। उहाँले भन्नुभएको छ:{निःसन्देह, हामीले नै यो उपदेश (कुरआन) अवतरण गरेका हौँ र निश्चय नै हामी नै यसको संरक्षण गर्नेछौँ।.} [सूरह अल्-हिज्र: ९]; किनभने पवित्र कुरआन मानवजातिका लागि अल्लाहको अन्तिम किताब हो, नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अन्तिम रसूल हुनुहुन्छ र इस्लाम नै त्यो धर्म हो, जसलाई अल्लाहले कयामतसम्म सम्पूर्ण मानवजातिका लागि रोज्नुभएको र स्वीकार गर्नुभएको छ। अल्लाहले भन्नुभएको छ: {निःसन्देह, अल्लाहको दृष्टिमा स्वीकार्य धर्म इस्लाम नै हो।} [सूरह आले इमरान: १९]

 

चौथो स्तम्भ

रसूलहरूमाथि ईमान

• अल्लाह तआलाले भन्नुभएको छ: {निःसन्देह, हामीले प्रत्येक समुदायमा रसूल पठायौँ, (यस सन्देशसहित:) ‘अल्लाहकै इबादत गर र तागुतबाट टाढा बस।’} [सूरह अन्-नहल: ३६]

• अल्लाहले प्रत्येक समुदायमा एक जना रसूल पठाउनुभएको थियो, जसले मानिसहरूलाई एकमात्र अल्लाहको इबादत गर्न र उहाँबाहेक पूजिने सबैलाई इन्कार गर्न आह्वान गरे भन्ने दृढ विश्वास राख्नु।

• उनीहरू सबै मानव पुरुष तथा अल्लाहका दास हुन्। उनीहरू सबै सत्यवादी, सत्य प्रमाणित भएका, धर्मपरायण र विश्वसनीय, मार्गदर्शक तथा सन्मार्गमा हिँड्नेहरू हुन्। अल्लाहले उनीहरूको सत्यताको प्रमाण दिने चमत्कारहरूद्वारा उनीहरूलाई समर्थन गर्नुभयो। उनीहरूले अल्लाहले उनीहरूलाई जुन सन्देशसहित पठाउनुभएको थियो, त्यसको पूर्ण रूपमा प्रचार–प्रसार गरे। उनीहरू सबै स्पष्ट सत्य र प्रस्ट मार्गदर्शनमा थिए।

• सबै रसूलहरूको दावत (आह्वान) को मूल आधार एउटै थियो; एकमात्र अल्लाहको इबादत गर्नु र उहाँसँग कुनै पनि कुरालाई साझेदार नठहराउनु।

 

पाँचौँ स्तम्भ

आखिरतको दिनमाथि ईमान

• अल्लाह तआलाले भन्नुभएको छ: {अल्लाहबाहेक कुनै सत्य उपास्य छैन। उहाँले तिमीहरू सबैलाई अवश्य नै कयामतको दिन एकत्रित गर्नुहुनेछ, जसमा कुनै शङ्का छैन। अल्लाहभन्दा बढी सत्य कुरा गर्ने अरू को हुन सक्छ?} [सूरह अन्-निसा: ८७] 

• आखिरत (कयामत) को दिनसँग सम्बन्धित सबै कुरामाथि दृढ विश्वास राख्नु, जसको बारेमा अल्लाहले आफ्नो पवित्र किताबमा वा उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ। जस्तै: मृत्यु, पुनर्जीवन, हश्र (सबैलाई एकत्र गरिनु), शफाअत (सिफारिस), तराजु (कर्म तौलिने), हिसाब–किताब, जन्नत, जहन्नम तथा आखिरतसँग सम्बन्धित अन्य सबै कुराहरू।

 

छैटौँ स्तम्भ

तक्दीर (भाग्य) को राम्रो र नराम्रोमाथि ईमान

• अल्लाह तआलाले भन्नुभएको छ: {निःसन्देह, हामीले प्रत्येक वस्तुलाई निश्चित तक्दीरअनुसार सृष्टि गरेका छौँ।} [सूरह अल्–कमर: ४९]

• यस संसारमा सृष्टिमाथि घट्ने सबै घटना अल्लाहको ज्ञान, तक्दीर र व्यवस्थापनअनुसार नै हुन्छन् र यसमा उहाँको कुनै साझेदार छैन भन्ने विश्वास गर्नु। यी सबै तक्दीरहरू मानिसको सृष्टिभन्दा पहिल्यै नै लेखिएका छन्। साथै, मानिससँग आफ्नै इच्छा र छनोट हुन्छ र उसले आफ्ना कर्महरू वास्तवमै स्वयं गर्छ; तर उसका सबै कर्महरू अल्लाहको ज्ञान, इच्छा र मशियत (इच्छा) भन्दा बाहिर हुँदैनन्।

तक्दीरमाथिको ईमान चार तहमा आधारित हुन्छ:

  • पहिलोअल्लाहको सर्वव्यापी ज्ञानमाथि विश्वास गर्नु।
  • दोस्रोकियामतको दिनसम्म घटित हुने हरेक कुरालाई अल्लाहले लेखिसक्नुभएको छ भन्ने कुरामा ईमान राख्नु।
  • तेस्रोअल्लाहको अटल इच्छा र पूर्ण शक्तिमाथि विश्वास गर्नु; उहाँले जे चाहनुहुन्छ, त्यही हुन्छ र उहाँले जे चाहनुहुन्न, त्यो हुँदैन।
  • चौथोअल्लाह नै सम्पूर्ण वस्तुका सृष्टिकर्ता हुनुहुन्छ र उहाँको सृष्टिमा उहाँको कुनै साझेदार छैन भन्ने विश्वास गर्नु।

 

वुजू गर्न सिकौँ

अल्लाह तआलाले भन्नुभएको छ: {निःसन्देह, अल्लाह तौबा गर्नेहरूलाई र पवित्रता अपनाउनेहरूलाई प्रेम गर्नुहुन्छ।} [सूरह अल्-बकरह: २२]

नबी ﷺ ले भन्नुभयोi: “मेरो यस वुजूजस्तै वुजू गर।” [बुखारी: १६४; मुस्लिम: २२६]
नमाजको महत्त्व अत्यन्त महान् भएकाले अल्लाहले नमाजअघि पवित्रता प्राप्त गर्न आदेश दिनुभएको छ र यसलाई नमाज सही हुनका लागि अनिवार्य शर्त बनाउनुभएको छ। त्यसैले पवित्रता नमाजको कुञ्जी हो। यसको महत्त्व र श्रेष्ठतालाई मनन गर्दा हृदय नमाज अदा गर्न उत्सुक हुन्छ। नबी ﷺ ले भन्नुभएको छ:पवित्रता आधा ईमान हो... र नमाज प्रकाश हो।” [सहीह मुस्लिम: २२३]
नबी ﷺ ले भन्नुभएको छ:“जसले राम्रोसँग वुजू गर्छ, उसका पापहरू उसको शरीरबाट निस्केर जान्छन्।” [सहीह मुस्लिम]
त्यसपछि भक्तले वुजू गरेर भौतिक रूपमा र यो इबादत पूरा गरेर आध्यात्मिक रूपमा पवित्र हुँदै, अल्लाह तआलाप्रति निष्ठावान् भई र नबी ﷺ को मार्गदर्शनको अनुसरण गर्दै आफ्ना पालनकर्तातर्फ अघि बढ्छ।

वुजू गर्नुपर्ने अवस्थाहरू:

  • १ नमाज पढ्न, चाहे त्यो फर्ज होस् वा नफ्ल।
  • २ काबाको तवाफ गर्न।
  • ३ कुरआन छुन।
  • म पवित्र पानीले वुजू गर्छु र गुस्ल गर्छु:
    पवित्र पानी: आकाशबाट वर्षिएको वा जमिनबाट मूल फुटेर निस्किएको र आफ्नो मूल प्राकृतिक अवस्थामा कायम रहेको त्यस्तो पानी हो, जसको रङ, स्वाद र गन्धमध्ये कुनै पनि गुण कुनै वस्तुका कारण परिवर्तन भएको हुँदैन।

वुजू गर्न सिकौँ

नियत गर्नु र नियतको स्थान हृदय हो।
नियतको अर्थ: अल्लाह तआलाको निकटता प्राप्त गर्नका लागि कुनै इबादत गर्ने हृदयको संकल्पलाई जनाउँछ।

दुवै हातका हत्केला धुनु।

मुख कुल्ला गर्नु।
मुख कुल्ला गर्नु: मुखमा पानी हालेर मुखभित्र राम्रोसँग घुमाउनु र त्यसपछि बाहिर निकाल्नु हो।

नाकमा पानी हाल्नु।
नाकमा पानी हाल्नु: सासद्वारा पानीलाई नाकको भित्री भागको माथिल्लो सीमासम्म तान्नु हो।
त्यसपछि नाक सफा गर्ने: श्वासको बलले नाकभित्र रहेको सिँगान तथा अन्य फोहोर बाहिर निकाल्नु हो।

अनुहार धुनु।
अनुहारको सीमा:
अनुहार भन्नाले: जसद्वारा आमनेसामने हुन सकिन्छ, त्यसलाई अनुहार भनिन्छ।
चौडाइमा: एक कानदेखि अर्को कानसम्म।
लम्बाइमा: टाउकोमा सामान्य रूपमा कपाल उम्रने स्थानदेखि चिउँडोको तल्लो भागसम्म।
अनुहार धुँदा अजार र कानको लोतीबीचको सेतो भाग पनि धुनुपर्छ।
सेतो भाग भन्नाले: अजार र कानको लोतीबीचको भागलाई जनाउँछ।
अजार भन्नाले: कानको प्वालसँग समानान्तर रहेको र टाउकोभित्रतर्फ जाने बाहिर निस्किएको हड्डीमाथिको कपाल तथा त्यसको तल कानको मूलसम्म रहेको कपाललाई जनाउँछ।

दुवै हात औँलाका टुप्पादेखि कुहिनासम्म धुनु।
दुवै कुहिना पनि वुजूमा अनिवार्य रूपमा धुनुपर्ने भागमा समावेश छन्।

दुवै हातले पूरै टाउको र कानको एक पटक मसह गर्नु (पुछ्नु)।
टाउको मसह गर्ने तरिका: दुवै हातले निधारबाट मसह सुरु गरी टाउकोको पछाडिसम्म लैजानु, अनि पछाडिबाट निधारसम्म फर्काउनु।
कान मसह गर्ने तरिका: दुवै चोर औँला कानको भित्री भागमा र दुवै बूढी औँला कानको बाहिरी भागमा राखी कानको भित्री र बाहिरी भागमा मसह गर्नु।

खुट्टाका औँलाका टुप्पादेखि गोलीगाँठासम्म धुनु। खुट्टा धुने अनिवार्य भागमा दुवै गोलीगाँठो पनि समावेश छन्।
गोलीगाँठो भन्नाले: खुट्टाको दुवैतर्फ बाहिर निस्किएका दुईवटा हड्डीलाई जनाउँछ।

यी कुराहरूले वुजू भङ्ग हुन्छ:

  • १ अगाडि वा पछाडिको मार्गबाट कुनै वस्तु निस्कनु, जस्तै: पिसाब, दिसा, वायु, वीर्य वा चिप्लो पदार्थ।
  • २ चेतना हराउनु, चाहे त्यो गहिरो निद्रा, बेहोसी, मादक पदार्थको प्रभाव वा पागलपनका कारण भएको होस्।
  • ३ गुस्ल अनिवार्य हुने कुनै अवस्था उत्पन्न हुनु, जस्तै: जनाबत, महिनावारी वा प्रसूतिको रक्तस्राव।
  •     

यदि कुनै व्यक्तिले दिसा गर्छ भने, उसले त्यसलाई सफा गर्नुपर्छ। पानीद्वारा सफा गर्नु उत्तम हुन्छ। पानीबाहेक फोहोर हटाउने अन्य शुद्ध र वैध वस्तुहरू, जस्तै ढुङ्गा, कागज, कपडा आदि प्रयोग गरेर पनि सफा गर्न सकिन्छ। तर कम्तीमा तीन पटक सफा गर्नुपर्छ।